Headlines News :
fb
Home » , » बुवाले भन्दा आमाले पढाएको 'राम्रो’

बुवाले भन्दा आमाले पढाएको 'राम्रो’


  • अध्ययन प्रतिवेदन भन्छ, 'शिक्षकले सिकाउँदा ४३, बुवा वा दिदी/दाजुले सिकाउँदा ४२ र आमाले सिकाउँदा ४५ प्रतिशत’ -

काठमाडौ, जेष्ठ ४ - पढ्दा नआए बालबालिकाले घरमा आमाबुबा वा दाजुदिदीलाई सोध्छन् । कतिपय परिवारमा श्रीमान्-श्रीमतीबीच किचलोसमेत पर्छ- छोराछोरीको पढाइमा कसले चासो दिने भनेर । एक सरकारी अध्ययनले भनेको छ- 'बुवाले भन्दा आमाले सिकाउँदा बालबालिकाको उपलब्धि राम्रो ।'

शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा आठमा अध्ययनरत ४८ हजार ६ सय ८२ विद्यार्थीबीच नेपाली, गणित र सामाजिकको अध्ययन गर्दा आमाले सिकाएका विद्यार्थीले राम्रो नतिजा ल्याउने गरेको देखिएको हो ।

अध्ययनमा हिमाली ५, पहाडी १०, तराईका ७ र उपत्यकाको ३ जिल्लाका १ हजार २ सय १ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेटिएको थियो । त्यसमा सामुदायिक ८३ प्रतिशत र संस्थागत १७ प्रतिशत विद्यालय थिए । त्यस्तै सहरी क्षेत्रका २६ र ग्रामीण भेगमा ७४ प्रतिशत विद्यालय छनोट गरिएको थियो । सरकारले आठ कक्षाका विद्यार्थीको राष्ट्रिय उपलब्धि परीक्षण गर्न अध्ययन गरेको हो ।

पढ्दा नबुझेको कुरालाई सहयोग लिने व्यक्तिअनुसार उपलब्धि फरक पर्ने अध्ययनबाट पाइएको अनुसन्धानमा संलग्न केन्द्रका उपसचिव भोजराज काफ्लेले बताए । अध्ययनले नेपाली, गणित र सामाजिक विषयमा कसले पढाउँदा कस्तो उपलब्धि हुने भन्ने निष्कर्ष निकालेको छ । ट्युसन पढ्दा, दाजु र दिदी, आमा, बाबु, शिक्षक कसले सिकाउँदा बढी उपलब्धि हुन्छ ? भन्ने देखाइएको छ ।

गणितमा दाजुदिदी र बुवाले पढाइको भन्दा आमाले पढाएकामा बढी उपलब्धि छ । बुवा र दाजुदिदीले सिकाउँदा गणितमा ४२ छ, तर आमाले सिकाउँदा ४५ प्रतिशत उपलब्धि प्राप्त हुने गरेको देखिन्छ । यसमा शिक्षकले सिकाउँदा ४३ प्रतिशत मात्रै छ ।

त्यस्तै नेपालीमा दाजुदिदी र आमाले सिकाउँदा ५० प्रतिशत नतिजा प्राप्त हुने गरेको छ । तर, बुवाले सिकाउँदा ४७ प्रतिशत मात्रै छ । त्यस्तै शिक्षकले सिकाउँदा ४८ प्रतिशत उपलब्धि छ । सामाजिकमा भने आमा र बुवा जसले सिकाए पनि ४९ प्रतिशत छ । यसमा पनि शिक्षकले सिकाउँदा ४८ मात्रै छ । 'छोराछोरी बाबुसँग भन्दा आमासँग बढी नजिक हुने भएकाले आमाले सिकाएको बढी प्रभावकारी भएको हुन सक्छ,' उनले भने ।

शिक्षाविद् विद्यानाथ कोइरालाले छोराछोरीलाई बुवाले भन्दा आमाले बढी माया गर्ने भएकाले सिकाएको बढी प्रभावकारी भएको बताए । 'बुवाले छोराछोरी छाडेर पनि जान्छन् । तर, आमाले बच्चालाई छाडेर अन्यत्र जान सक्दैनन्,' उनले भने, 'यदि श्रीमान्ले वास्ता नगरे आमालाई छोराछोरीले पाल्ने आस हुन्छ । आमाको मायामा लुटपुटिएर सिकाएकाले चाँडै सम्झन्छन् ।'  आमाले छोराछोरीको पढाइलाई आफ्नो इज्जत र प्रतिष्ठानसँग सधैं जोड्ने गरेको उनले बताए । 'बाबुले छोराछोरीले पढ्यो पढेन खासै मतलब राख्दैनन् । उसले के खायो होला, होमवर्क गर्‍यो/गरेन वास्ता हुँदैन,' उनले भने, 'तर आमाले छिन-छिनमा छोराछोरीले के गर्‍यो भन्ने सम्झन्छन् ।'

आमाबुवाको शैक्षिक अवस्थाले पनि छोराछोरीको पढाइमा असर पार्ने अध्ययनले देखाएको छ । आमाबाबु शिक्षित भएकाको छोराछोरीको सिकाइ उपलब्धि उच्च पाइएको

छ । 'जति-जति अभिभावकको शैक्षिकस्तर राम्रो हुँदै जान्छ बालबालिकाको उपलब्धि पनि उच्च हुँदै गएको्द्य देखिन्छ,' काफ्लेले भने । परिवारमा आमा र बुवाको समान पढाइ भए पनि आमाको साक्षरताले छोराछोरीको पढाइमा असर पर्ने अध्ययनले देखाएको छ । आमा र बुवा दुवै ५ कक्षासम्म अध्ययन गरेका छन भने आमाको साक्षरताका कारण छोराछोरीको पढाइको अवस्था राम्रो पाइएको छ । आमाको १ देखि ५ कक्षासम्म अध्ययन गरेको परिवारमा नेपालीमा ५१ छ भने बुवाले १ देखि ५ सम्म अध्ययन गरेकामा ४८ मात्रै छ । त्यस्तै गणितमा आमा साक्षर परिवारमा ४३ र बुवा हुँदा ४० मात्रै छ । आमा साक्षर भए छोराछोरीको शैक्षिकस्तर पनि राम्रो हुने नेपालको मात्रै नभई अन्तर्राष्ट्रिय अध्ययनले समेत देखाएको कोइरालाले बताए ।

 आमाबुवाको पेसाले समेत छोराछोरीको पढाइलाई असर गरेको छ । आमाबुवाको समान पेसा भए पनि आमाको पेसाले छोराछोरीको पढाइ राम्रो भएको छ । आमा कृषि पेसा गर्ने छोराछोरीको नेपालीमा ४७, बुवा कृषि पेसा हुनेको ४५ छ । तर, आमा शिक्षण जागिर हुनेभन्दा बुवा हुनेको पढाइस्तर राम्रो छ । आमा शिक्षक हुने परिवारमा नेपाली, गणित र सामाजिकमा क्रमशः ४९, ४६, ५७ छ भने बुवा हुनेको नेपाली, गणित र सामाजिकमा ५२, ५०, ५२ प्रतिशत छ । बुवा व्यवसाय गर्ने परिवारमा नेपाली विषयमा राम्रो भए पनि अन्य विषयमा कमजोर छ ।

छोराछोरीलाई फुर्सदको समयमा टीभी हेर्न दिनु हुँदैन एकोहोरो हुन्छ भनेर अभिभावक चिन्तित हुन्छन् । त्यस्तै घरमा काम लगाउनेभन्दा पनि एकोहोरो पढिदिए अभिभावक खुसी हुन्छन् । छोराछोरीले कत्तिको बुझेको छ/छैन वास्ता हुँदैन । हातमा किताब लिएर बसिदिए हुन्थ्यो भन्ने हुन्छ । विद्यालयबाट फर्केपछि दैनिक २ घन्टा घरको काम गर्ने र टीभी हेर्ने बालबालिकाको उपलब्धि राम्रो पाइएको छ । अध्ययनले विद्यालय समयभन्दा बाहेक घरको काम गर्ने, खेल्ने र टीभी हेर्न दुई घन्टा समय बिताएका बालबालिकाको उपलब्धि स्तर राम्रो छ । दुई घन्टाभन्दा बढी काममा संलग्न हुने विद्यार्थीले जति धेरै काम गर्छन् उही दरमा उपलब्धि स्तर कमजोर हँुदै गएको पाइएको छ । केन्द्रका अनुसार २ घन्टाभन्दा बढी काम गर्नेको नेपाली र गणितमा औसत ३६ प्रतिशत रहेकामा २ घन्टाभन्दा कम काम गर्नेको ४६ प्रतिशत छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar