Headlines News :
fb
Home » » खाद्यन्नमा परनिर्भरता बढ्यो, नौ महिनामा १८ अर्बको आयात -

खाद्यन्नमा परनिर्भरता बढ्यो, नौ महिनामा १८ अर्बको आयात -

३१ बैशाख, काठमाडौं । कृषि प्रधान मुलुक नेपाल खाद्यन्नमा परनिर्भर बन्दै गइरहेको छ । चालु आर्थिक वर्षको चैत महिनासम्ममा विभिन्न मुलुकबाट १८ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ बराबरको खाद्यन्न आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको चैत महिनासम्म १४ अर्ब ८० करोड २८ लाख रुपैयाँ बराबरको खाद्यन्न आयात भएको थियो । अघिल्लो वर्षभरिमा २० अर्ब ९२ करोड ३४ लाख रुपैयाँ बराबरको खाद्यन्न आयात भएकोमा यस वर्ष ९ महिनामै १८ अर्ब नाघिसकेको छ ।


 व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांकलाई केलाउँदा यस वर्षभरिमा खाद्यन्नको आयात २५ अर्बको हारहारीमा पुग्ने देखिन्छ । पछिल्लो समय कृषिमा नेपालीहरुको आकर्षण घट्दै जाँदा आयातमा निर्भर बन्नुपरेको कृषि विज्ञहरु बताउँछन् । ‘गाउँका खेतबारी बाँझो राखेर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दै गइरहेको छ, अहिले खेती गरेर बस्नेहरु निकै कम देखिन्छन्, कसरी खाद्यन्न उत्पादन बढ्छ’ पूर्व अर्थसचिव रामेश्वर खनाल भन्छन् ।

त्यसो त खेतीपाती गरेर बस्नेहरु पनि नगदे बालीमा आकषिर्त हुन थालेपछि खाद्यन्न उत्पादन घट्दै गइरहेको अनुमान लगाउन सकिन्छ । नेपालको व्यापार घाटा बढाउन पेट्रोलियम पदार्थ मूख्य कारक बन्दै गइरहेको छ । नेपालको कुल वस्तु निर्यात भन्दा पेट्रोलियम पदार्थको आयात उच्च रहेको छ । चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकलाई हेर्दा नेपालबाट ६८ अर्ब २० करोड १८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ भने ९९ अर्ब ४२ करोड १६ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस अवधिमा पेट्रोलियम पदार्थको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको चैत महिनासम्ममा ८१ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

सवारी साधनको संख्या बढ्दै जाँदा पछिल्ला वर्षहरुमा पेट्रोलियम पदार्थको आयात डरलाग्दो रुपमा बढ्दै गइरहेको छ । त्यसैगरि, फलाम तथा स्टिलजन्य वस्तुहरुको आयात पनि ४७ अर्ब २५ करोड रुपैयाँ बराबरको छ । यस अवधिमा ३० अर्ब २९ करोड रुपैयाँ बराबरको सवारी साधन तथा पार्टस्हरु आयात भएका छन भने २८ अर्ब ९७ करोड रुपैयाँ बराबरको मेसिनरी तथा पार्टस्हरु आयात भएको केन्द्रको तथ्यांकले देखाउँछ । नेपालमा विद्युतिय सामाग्री, सुन, मलखाद, सोयाविन तेल, पोलिथिन, औषधि, दूरसञ्चार उपकरण लगायतको आयात उच्च रहेको छ ।

निर्यात अवस्था चिन्ताजनक 

आयातको तुलनामा निर्यात अवस्था अत्यन्त चिन्ताजनक देखिन्छ । चैत महिनासम्मको तथ्यांक हेर्दा नेपालबाट उनी गलैंचाको निर्यात सबैभन्दा बढी भएको छ । यस अवधिमा ५ अर्ब ४८ करोड रुपैयाँ बराबरको उनी गलैंचा निर्यात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष उनी गलैंचाको निर्यात ४ अर्ब ३५ लाख रुपैयाँ बराबर थियो । त्यसैगरि, धागोको निर्यात पनि ८.३ प्रतिशतले बढेर ४ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । कपडा ४ अर्ब ७ करोड रुपैयाँ, तयारी पोशाक ४ अर्ब १ करोड रुपैयाँ, अलैंची ३ अर्ब ६९ करोड रुपैयाँ, जुस ३ अर्ब २७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यस अवधिमा नेपालको कुल वस्तु निर्यात १९.९ प्रतिशतले बढेको छ । अधिकांश वस्तुहरुको निर्यातमा सुधार देखिएपनि निर्यातको तुलनामा आयात उच्च भएपछि यस अवधिमा नेपालको व्यापार घाटा साढे ४ खर्ब नाघेको छ । 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar