काठमाडौ, वैशाख २५ – सरकारले ७२ वटा नयाँ नगरपालिका थप गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले मापदण्ड पुगेका देशका बिभिन्न सहरहरुलाई नगरपालिकाको रुपमा स्वीकृत गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
नयाँ नगरपालिकाको स्वीकृति सँगै नगरपालिकाको संख्या ५८ बाट बढेर १ सय ३० पुगेको छ ।जनसंख्या, भौतिक पूर्वाधार र अन्य सुविधाको आधारमा सरकारको प्राबिधिक समितिले बिभिन्न सहरहरुलाई नगरपालिकाका लागि सिफारिस गरेको थियो । त्यस्तै मन्त्रीपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गोविन्द पोखरेललाई नियुक्त गरेको छ । यसअघि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक रहेका पोखरेललाई योजना आयोगमा ल्याइएको हो । त्यसैगरी विराटनगरमा केही हप्तादेखि फैलिएको जण्डिस र हेपाटाइटिस रोग नियन्त्रणका लागि मुख्य सचिव लिलामणि पौडेललाई प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्न जिम्मा दिएको छ ।
