Headlines News :
fb
Home » » यार्चा टिप्न पाटन जानेको लर्को

यार्चा टिप्न पाटन जानेको लर्को

 
 रुकुम, वैशाख १८ - जिल्लाको उत्तरपूर्वी गाउँहरूका बासिन्दा यार्चागुम्बु टिप्न पाटनतिर जान थालेपछि गाउँ खाली हुन थालेका छन् ।
वैशाख अन्तिम साताबाट मैकोटस्थित पुपाल, जंगला र अरबिदा पाटनमा यार्चा टिप्ने व्यवस्था भएपछि स्थानीय बासिन्दा पाटनतिर लागेका हुन् । रुकुमका गोतामकोट, स्यालाखदी, जाङ, हुकाम, रन्मामैकोट, तकसेरा, महत, काक्री, कोललगायत दर्जनभन्दा बढी गाविसका बस्ती खाली हुन थालेका हुन् । तीन महिनाका लागि स्थानीयहरू आफ्नो थातथलो छाडेर बुकिपाटन जाने गरेका हुन् ।

उनीहरू बस्दोबस्ती सामान लिएर बुकिपाटनमा लाग्ने गरेका छन् । अघिकांश गाविसका बालबालिकादेखि वृद्धवृद्धासमेत घरमा ताला लगाएर यार्चागुम्बु टिप्न जाने गरेका छन् । दुई सातादेखि जाजरकोट, रुकुम, रोल्पा, सल्यानलगायत जिल्लाबाट बुकिपाटन जानेको लर्को लाग्न थालेको छ । दुई सातादेखि गाउँगाउँबाट दैनिक चार हजारभन्दा बढी स्थानीयको पाटनतिर जाने लर्को लाग्न थालेको गोतामकोटका लंकबहादुर मल्लले फोनमा बताए । 'सबै घरमा ताला लगाई पाटनतिर जान थालेका छन्', उनले भने, 'आजभोलि गाउँ सुनसान बन्न थाले ।'

वैशाख दोस्रो सातादेखि यार्चागुम्बु संकलन प्रवेशपत्र वितरणको काम सुरु भएको सिजन व्यवस्थापन समितिका सदस्य नन्दप्रसाद पुनले बताए । 'यसपालि करिब पन्ध्र हजार जनाले यार्चा टिप्न आउने सम्भावना छ', उनले भने, 'यार्चाको मूल्य बढ्दै गएकाले र यसपालि यार्चा पनि राम्रो भएकाले दैनिक चार सयभन्दा बढीले पास लिइरहेका छन् ।'

यार्चागुम्बु संकलनका लागि छिमेकी जिल्ला रोल्पा, बागलुङ, म्याग्दी, डोल्पा, जाजरकोटलगायत जिल्लाबाट हजारौंको संख्यामा यार्चागुम्बु संकलन गर्न आउने गर्छन् । एक सिजनमा करिब पन्ध्र करोडको कारोबार हुने पुनले बताए । संकलन गर्न आउने सर्वसाधारणलाई तीन हजार र व्यापारीलाई १५ हजार प्रवेश शुल्क लिने उनले बताए ।

यार्चा पाइने क्षेत्रको सुरक्षाका लागि तीन वटै क्षेत्रमा सयभन्दा बढी स्वयंसेवक खटिनेछन् । उनीहरूले यसपालि प्राथमिक उपचार, सुरक्षालगायतको व्यवस्था गरिसकिएको बताए ।

स्थानीयका अनुसार पूर्वी गाविसमा वर्षैभरिको जोहो यार्चागुम्बुको रकमले गर्नुपर्ने भएकाले बस्ती नै खाली हुने गरी स्थानीयको पाटन जाने लर्को लाग्न थालेको हो । जिल्ला सदरमुकाम वरपरका गाविसबाट समेत स्थानीयहरू बुकिपाटन जान सुरु गरेका छन् । स्थानीयहरू यार्चागुम्बु टिपेर भदौमा मात्र बुकिपाटनबाट झर्ने गर्छन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar