Headlines News :
fb
Home » » कोरियाबाट फर्केका नेपालीका लागि इपीएस परीक्षाको कार्यतालिका सार्वजनिक

कोरियाबाट फर्केका नेपालीका लागि इपीएस परीक्षाको कार्यतालिका सार्वजनिक

२९ बैशाख, काठमाडौं । तीन वर्षभन्दा बढी कोरियामा बसेर स्वदेश फर्केका नेपाली कामदारले पुनः कोरिया जान इपीएस परीक्षा दिनुपर्ने भएको छ । नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय र गणतन्त्र कोरियाबीच सम्पन्न समझदारी पत्रअनुसार रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा तीन बर्षभन्दा बढी काम गरेर फर्केका कामदारको भाषा परीक्षा सम्बन्धी कार्यतालिकासमेत प्रकाशित भएको छ । कम्प्युटरमा आधारित पाँचौं कोरियन विशेष भाषा कोरियाको मानव विकास स्रोत सेवाले सञ्चालन गर्ने तालिममा योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन हाल्न नेपाल सरकारले आह्वान गरेको छ । परीक्षाका लागि आगामी जेठ ५ गतेदेखि ९ गतेसम्म रजिष्ट्रेसन गर्नुपर्ने र जेठ २२ गते परीक्षा तालिका घोषणा हुने बताइएको छ । आगामी जेठ ३० गते परीक्षा हुने र असार १९ गते नतिजा प्रकाशन हुने सूचनामा बताइएको छ । फारम भर्ने समय विहान ८ बजेदेखि साँझ ५ बजेसम्म तय गरिएको छ ।

आवेदकको योग्यता 
योग्यता पुगेका व्यक्तिले मात्रै उक्त भाषा परीक्षामा आवेदन दिन पाउने इपीएस कोरिया शाखा कार्यालयले जनाएको छ । आवेदन दिने नेपाली नागरिकले ईपीएसअन्तर्गत पुनः रोजगारी प्राप्त गरेको र सन् २०१० जनवरी पश्चात भिसा अवधिभित्रै स्वेच्छिकरुपले नेपाल फर्केको प्रमाण पेश गर्नुपर्ने छ । उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका व्यक्तिलेमात्रै परीक्षामा सहभागी हुन पाउने छन् । फौजदारी अभियोगमा अदालतबाट जेल सजायँ पाएकाले परीक्षा दिन पाउने छैनन् । त्यस्तै गणतन्त्र कोरियामा गई गैरकानुनी रुपमा बसोबास नगरेको व्यक्ति हुनुपर्नेछ । नेपालबाट अन्य मुलुकमा जान रोक लगाइएको व्यक्तिले पनि यो परीषामा सामेल हुने पाउने छैनन् । कोरियाबाट र्फकदा एलिन रजिस्ट्रेसन कार्ड तयहाँको इमिग्रेसनमा बुझाएको र विशेष भाषा परीक्षाको लागि योग्य भई कोरियाको मानव विकास स्रोत सेवाबाट नाम प्राप्त भएको व्यक्तिले मात्रै परीक्षामा सामेल पाउने बताइएको छ ।

आवेदन शुल्क २४ डलर 

परीक्षा दिनका लागि नेपाली नागरिकले परीक्षा शुल्क २४ डलर तिर्नुपर्ने ईपीएस कार्यालयले जनाएको छ । उक्त रकम फारम भर्ने अघिल्लो दिन केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसाबबाट नेपाली रुपैयाँको हिसाव गरी कार्यालयले तोकेको बैंकमा बुझाउनुपर्नेछ । आवेदन रद्द गर्न चाहे आवेदकले रद्द गर्न पाउनेछन् । तर, उनीहरुले पुनः दर्ता गर्न भने पाउने छैनन् । आवेदन रद्द गर्नुपरेमा दर्ता अवधिभित्र आफूले बुझाएको भौचरसहित कार्यालयमा उपस्थित हुनुपर्नेछ । राहदानी, नागरिकता तथा अन्य सक्कल प्रमाणपत्र लिएर ईपीएसको कार्यालयमा गई जाँच गराएपछि मात्र बैंकमा रकम जम्मा गर्नुपर्ने कार्यालयले जनाएको छ । बैंकको भौचर ईपीएस कार्यालयमा बुझाएपछि मात्र आवेदन फारम पाइने र एक व्यक्तिले एउटामात्र फारम पाउन सक्ने व्यवस्था गरिएको छ । आवेदन फारम तथा अन्य विषयमा ईपीएस कोरिया शाखाको कार्यालय ग्वार्को, ललितपुरबाट जानकारी गराइने बताइएको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar